कैलाली ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । आजकै दिनदेखि सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको छ ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा पोखरा लगायत काठमाडौं र अन्य जिल्लामा पनि गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् । यस अवसरमा पोखरामा आइतबारदेखि ल्होसार महोत्सव सुरु भएको छ ।




