धनगढी।सुदूरपश्चिममै पहिलोपटक ‘नेशनल बाथरोग सेन्टर’ शाखा सञ्चालनमा आएको छ।अब बाथरोगका बिरामीले उपचारका लागि भारत वा काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य भएको छ।

शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिद्वारा सञ्चालित सेन्टरको उद्घाटन धनगढी-१ का वडाध्यक्ष सन्तोष मुडभरीले गरेका थिए। उनले भने, “अब बिरामीले धेरै पैसा खर्च गरेर बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति पाउनेछन्। गरिब तथा विपन्नलाई सहुलियतमा सेवा दिन सेन्टरलाई अनुरोध गर्दछु।”
नेशनल बाथरोग सेन्टरका अध्यक्ष डा. विनित बैद्यले बाथरोगलाई सामान्य दुखाइ मात्र ठानिने गलत धारणालाई सच्याउनुपर्ने बताए।उनले भने, उमेदवारको उमेर, रोगको प्रकार र जोखिमअनुसार छुट्टाछुट्टै उपचार दिइनेछ। विशेषज्ञको मात्र होइन, टिमकै सेवा उपलब्ध हुनेछ।

प्रबन्ध निर्देशक रोशन कक्षपतीले भने, “सुदूरपश्चिमका बिरामीलाई भारत र काठमाडौँ धाएर उपचार गर्न नपरोस् भन्ने उद्देश्यले शाखा स्थापना गरिएको हो। । स्थानीय तहको सिफारिसमा आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियतमा सेवा उपलब्ध गराइनेछ।
शाखामा बाथरोगसम्बन्धी सबै परीक्षण र उपचार अब धनगढीमै उपलब्ध हुनेछन्।यो नेपालभर ८ जिल्लामा सञ्चालनमा रहेको शाखामध्ये नवौं शाखा हो।





